२०८३ असार २३ गते मङ्गलवार | 2026 July 7th Tuesday

पहिलोपटक घट्यो मेटाको आम्दानी

अमेरिकी प्रविधि कम्पनी मेटाको त्रैमासिक आम्दानी पहिलोपटक घटेको छ। बुधबार कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार सन् २०२२ को दोस्रो त्रैमासमा मेटाको आम्दानी २८ अर्ब ८० करोड अमेरिकी डलरमा झरेको छ।

अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको आम्दानी २९ अर्ब १० करोड डलर थियो। 

अन्य कम्पनीजस्तै अहिले मेटाले बलियो अमेरिकी डलरको कारण पनि आम्दानीमा गिरावटको सामना गरेको हो। 

कम्पनीले तेस्रो त्रैमासमा आम्दानी अझै घटेर २६ अर्ब डलरमा आइपुग्ने अनुमान गरेको छ। मेटाको प्रमुख कम्पनी फेसबुकको सक्रिय प्रयोगकर्ताको संख्या २ अर्ब ९३ करोड पगेको छ। त्यस्तै दैनिक सक्रिय प्रयोगकर्ताको संख्या १ अर्ब ९७ करोड पुगेको छ। 

यसअघि मंगलबार अल्फाबेटले आफ्नो आम्दानी बढेको विवरण सार्वजनिक गरेको भए पनि स्न्यापच्याट र ट्वीटरले भने अपेक्षाअनुसारको आम्दानी हासिल नभएको विवरण सार्वजनिक गरेका थिए। 

आर्थिक दबाबका बीच मेटाको प्रमुख व्यवसाय फेसबुकले पनि टिकटकजस्तै छोटो भिडियोको अवधारणालाई पनि अघि बढाइरहेको छ। त्यस्तै अहिले फेसबुकले अन्य केही महँगा योजना पनि अघि सारिरहेको छ। 

प्रकाशित मिति : २०७९ साउन १९ गते बिहिवार
प्रतिक्रिया लेख्नुहोस