२०८३ बैशाख १४ गते सोमवार | 2026 April 27th Monday

शेयर धितो कर्जामा राष्ट्र बैंकले गर्‍यो थप नयाँ व्यवस्था 

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूले प्रदान गर्दै आएको मार्जिन प्रकृतिको शेयर धितो कर्जामा थप नयाँ व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले आर्थिक वर्ष ०७९/०८० को मौद्रिक नीतिमा गरेको शेयर धितो कर्जासम्बन्धी व्यवस्था कार्यन्वयनको लागि निर्देशन जारी गर्दै थप नयाँ व्यवस्था गरेको हो । 

यस वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले शेयर धितोकर्जाको अधिकतम सीमा रू. १२ करोड नै कायम गरे पनि एक वित्तीय संस्थाबाट अधिकतम रू. १२ करोड कायम गरेको हो । 

यसअघि एक वित्तीय संस्थाबाट अधिकतम रू. ४ करोड र समग्र वित्तीय प्रणालीबाट रू. १२ करोडसम्म यो कर्जा लिन पाउने व्यवस्था थियो । मौद्रिक नीतिमा भएको उक्त व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले साउन १८ गते निर्देशन जारी गरेको हो । 

२०७८ साल भदौ ८ गतेपूर्व कुनै पनि ऋणीलाई तोकिएको सीमाभन्दा बढी यो कर्जा प्रवाह भएको अवस्थामा क्रमिक रूपले घटाउँदै लगी कर्जाको भुक्तानी अवधि वा सो मितिबाट एक वर्षमध्ये जुन पहिले हुन्छ सो अवधिभित्र नियमित गरिसक्नुपर्ने व्यवस्था समेत राष्ट्र बैंकले गरेको छ । 

मार्जिन प्रकृतिको शेयर धितोकर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह वा नवीकरण गर्दा उक्त सीमा ननाघेको यकिन गरेर मात्र कर्जा प्रवाह तथा नवीकरण गर्नुपर्ने नयाँ व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

आगामी दिनमा तोकिएको सीमा नाघी कर्जा प्रवाह वा नवीकरण गरेमा बैंक तथा वित्तीय संस्थाले उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने निर्देशन राष्ट्र बैंकको छ ।

प्रकाशित मिति : २०७९ साउन १९ गते बिहिवार
प्रतिक्रिया लेख्नुहोस