२०८३ जेष्ठ २४ गते आइतवार | 2026 June 7th Sunday

मेरिगोल्ड ओभरसिज प्रालिविरुद्ध मुद्दा दायर

वैदेशिक रोजगार विभागले मेरिगोल्ड ओभरसिज प्रालिविरुद्ध मुद्दा दायर गरेको छ । विभागबाट इजाजतपत्र लिई सञ्चालनमा रहेको मेरिगोल्ड ओभरसिजका सञ्चालक र कर्मचारीविरुद्ध ठगी आरोपमा वैदेशिक रोजगार न्यायाधिकरण बबरमहलमा मुद्दा दायर गरिएको हो ।

संस्थाका सञ्चालक र कर्मचारीले रोजगारीको लागि युक्रेनलगायतका देशमा पठाइदिने भन्दै ३८ जनाबाट एक करोड ८६ लाख १५ हजार दुई सय रकम लिई रोजगारीमा नपठाई ठगी गरेको उजुरी विभागमा आएकाले उक्त उजुरीका आधारमा न्यायाधिकरणमा मुद्दा दायर गरिएको विभागले जनाएको छ । विभागले अनुसन्धान गर्दा संस्थाका सञ्चालक रविन्द्र कुमार श्रेष्ठ, भावनी प्रसाद कोइराला, याम बहादुर कार्की र कर्मचारी अमिर थुलुङ्गेले वैदेशिक रोजगार ऐन २०६४ को दफा ४४ बमोजिमको र गणेश प्रसाद मैनाली, सुरज कार्की र दिपेश गुप्ताले ऐनको दफा ४३ बमोजिम कसुर गरेको पुष्टि भएको छ । उनीहरूले ठगी गरेको ३८ जनाबाट एक करोड ८६ लाख १५ हजार दुई सयको ५० प्रतिशतले हुनआउने हर्जना क्षतिपूर्तिबापतको ९३ लाख सात हजार छ सय समेत गरी दुई करोड ७९ लाख २२ हजार आठ सय पीडितहरूलाई दिलाउने गरी निवेदन दिइएको विभागले जानकारी दिएको छ ।

मेरिगोल्ड ओभरसिज प्रालिविरुद्ध विदेशिक रोजगार ऐन २०६४ को दफा ४४ र ४३ अनुसार कैद सजाय वा संस्था खारेजी हुने प्रावधानअनुसार कारबाही गरिने विभागले जनाएको छ । विभागले यो आर्थिक वर्षमा चारवटा संस्थाविरुद्ध ठगी मुद्दा दायर गरेको विभागका निर्देशक एवं सूचना अधिकारी कृष्ण प्रसाद भुसालले जानकारी दिए 

प्रकाशित मिति : २०७९ साउन १९ गते बिहिवार
प्रतिक्रिया लेख्नुहोस