२०८१ जेष्ठ ७ गते सोमवार | 2024 May 20th Monday

राजनीतिको नियति : ‘बाँदरका हातमा नरिवल’

सामाजिक प्राणी मानव जातिको सहकार्य र एकापसको सद्भाव अलौकिक छ । यो हाम्रो जैविक इतिहास नफेरिएसम्म यथावत् रहनेछ । हामी घर कुरुवा भएसँगै आदिम गणतन्त्रदेखि विकसित र विभिन्न कालखण्डमा सनातनी हुन नसकेर विकृत समेत हुँदै आएको छ ।

समय सन्दर्भले प्रजातन्त्र, लोकतन्त्र, सामाजिक लोकतन्त्र र लोकतान्त्रिक गणतन्त्र जस्ता विभिन्न आलङ्कारिक नामले परिचित उदार भनिने लोकतन्त्र अहिले संकटग्रस्त छ । यस्तो हुनुमा श्क्तिशाली हुने भन्दै सत्ता हडप्न देखाइने नौटंकी, जालझेल र तिकडमको मनोवृत्ति जिम्मेवार छ ।

हुन त यो ३०० वर्ष अघिदेखिको स्रोत दोहनको उपनिवेशी यात्रासँगै सबैभन्दा विकृत भएको हो । यस अर्थमा यसलाई कुरूप बनाउन हाम्रा निकम्मा नेताको मात्र दोष छैन ।

लोकतन्त्रको मसिहा भनिने अमेरिकाले संसारभरि फैलाएको आतंकले पश्चिमी लोकतन्त्रको असली रुप देखाएकै छ । भारतले छिमेकीलाई गर्ने व्यवहार भोगेकै छौं । के लोकतन्त्रका मूल्यमान्यता र सिद्धान्त अरुलाई धम्काउने र उपनिवेशी शासन थोपर्न मात्र हो ? कि यो मानव सभ्यता उन्नत बनाउने सद्भावपूर्ण सहकार्य हो ? यसको भाष्यमा बहस गर्नुपर्ने भएको छ ।

सँगै,  दोस्रो विश्वयुद्धपछि यसैको दुहाई दिंदै आजसम्म पश्चिमी भनेर चिनिने अमेरिका र युरोपेलीले हामी जस्ता निरीहलाई उपनिवेशी शासन थोपरिरहेका छन् । यसको सिको गर्दै आफ्नै विरादरी हेप्ने हामी जो छँदैछौं । तर यो सबै यात्रामा हामी नेपालीको कथा–व्यथा भने अलि भिन्न नै छ ।

धेरै पहिले सुनेको कुरा, कुनै एउटा जंगलमा जनावरहरू पालैपालो राजा हुने चलन थियो रे ! एकपटक बाँदरको राजा हुने पालो आयो रे ! सबै जनावर मिलेर तामझामका साथ बाँदरलाई राजगद्दीमा राखे रे ! एक दिन राजा बाँदर एउटा ठूलो रूखको फेदमा बसेर जुम्रा मार्दै थियो रे !

जंगलका रैती जनावरको कोलाहल सुनेर बाँदरले यसो फर्केर हेर्‍यो । अलिपर एउटा सिंह स्याललाई मार्न लखेट्दै रहेछ । बाँदर डरायो, रूखको फेदबाट विस्तारै माथि उक्लियो, यताउति हेर्दै बस्यो ।

त्यति नै बेला जंगलका सारा जनावर राजा बसेको रूख वरिपरि आइसकेका थिए । उता सिंहले स्याललाई पछारिसकेको थियो । माहोल गम्भीर भयो । बाँदर अत्तालिएर रूखको हाँगामा तलमाथि र वल्लो र पल्लोमा हाम्फाल्दै थियो ।

त्यति नै बेला एउटा खरायो अगाडि आयो र विनम्रतापूर्वक भन्यो, ‘महाराज ! तपाईं राजा भएको बेला यस्तो अनर्थ कसरी हुनगयो ? हामी सबैले हेर्दाहेर्दै त्यो विचरा स्याल दाइको ज्यान गयो । अब हाम्रो के हुन्छ ?’

बोल्ने पालो राजाको आयो । बाँदर राजा रूखको हाँगामा टुसुक्क बस्यो, थकित मुद्रामा सुस्तरी उसले भन्यो, ‘प्यारा प्रजाहरू ! यो घटना जे भयो हुनुहुन्थेन । मलाई बडो दुःख लागेको छ । मैले सकेजति सबै गरेको हुँ । म एकछिन बसेको हैन, वल्लो हाँगा हुँदै पल्लोमा गएँ । माथि गएँ, तल झरें । गर्न सक्ने सबै गरें । त्यति गर्दागर्दै त्यो सिंहले स्याल खायो त म के गरुँ ?’

राणाकालीन र पञ्चायती निरंकुशतालाई एकछिन अलिपर राखेर गएका ३० वर्षलाई मात्र फर्केर हेर्ने हो भने हाम्रो देशमा यस्तै पुच्छर हराएका विरादरी नै एकपछि अर्को गर्दै सत्तामा आसीन छन् । यिनको हातमा यो मुलुक र आफ्नै नियति थमाएर आम नागरिक त्यही बाँदर राजाका रैती स्यालको जस्तै हविगत बेहोर्दै छन् ।

जंगल राजमा खरायो बिन्ती बिसाउँदैछ, शुतुरमुर्ग टाउको लुकाएर ज्यान जोगाउने अभिनय गर्दैछ, धूर्त ब्वाँसोहरू पछाडि ढुकेर बसेका छन् । चारखुट्टेको घरजमको जस्तो थकित गधा पसिना पुछेर सुस्ताउँदैछ भने बाँदर राजमा सत्ताको चास्नीमा डुबुल्की मारेका सुँगुरहरू नशामा धूत छन् ।

सतीको श्राप परेको भनेर आफ्नो नियतिमा चित्त बुझाउने आम नागरिक यिनै बाँदरले हाँगा हल्लाएर पात झारेको हेर्न अभिशप्त छन् । अहिले मुलुकमा कोरोना र दलाल बाहेक सबै निरीह जस्तै देखिएका छन् ।

अहिले मुलुकमा कोरोना र दलाल बाहेक सबै निरीह जस्तै देखिएका छन् । सरकार बहुदलीय गुटका स्वार्थ र अदालत सेटिङले चल्न सकेको छैन भने संसदमा लोकतन्त्रको लेनदेन भइरहेको छ ।

सरकार बहुदलीय गुटका स्वार्थ र अदालत सेटिङले चल्न सकेको छैन भने ‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्न बनाइएको संसद’मा लोकतन्त्रको लेनदेन भइरहेको छ ।

यसमाथि, यो संसद लोकतन्त्रको दुहाई दिने तर पुरातनवादीसँग साँठगाँठमा रमाउने प्रतिपक्षको कुण्ठाको शिकार भएको छ । ६ महीनाअघि आफ्नै अहंकारले बालुवाटारबाट हटेर एमाले तिलमिलाउँदै बालकोट बार्दलीमा पुगेको थियो ।

अहिले यसले रामराज्यको सपना बाँड्दै दुईखुट्टे गैंडालाई झण्डा हल्लाउन लगाएर अयोध्या पुगेको छ । आफ्नै नेता कार्यकर्ता ठेगान लगाउन सहमतीय लोकतन्त्रको अभ्यासमा जंगली गैंडा जस्तै जब्बर देखिएको छ ।

६ महीना अघिसम्म लोकतन्त्र जोगाउन भन्दै सडकमा निरीह देखिएको गठबन्धन नामको गुटबन्धन बैंसको स्याल जस्तै घोर्ले भएको छ । टाउकाको मोल तोकिएका र टाउको काटिने सँगसँगै सरकारी झण्डा हल्लाउदै सिंहदरबार गेटमा पुगेका छन् ।

सत्ताको चास्नीमा आजन्म कालो भनेर सत्तोसराप गरेको पार्टीसँग सँगसँगै डुबेका छन् । अहिले सत्तापक्षीय बेरोजगारलाई प्रतिगमन सच्याउन संसद विघटनको चर्को विरोध गर्न पिच सडकमा बस्दा टाँसिएको अलकत्रा कोट्याउँदैमा ठिक्क छ भने विपक्षी बेरोजगार भने टुटफुटको खेती भित्र्याउन मगनमस्त छन् ।

यो सबै देख्दा, ‘संसार एक रंगमञ्च हामी हौं कठपुतली’ भन्ने गीतको मर्मले आफैंलाई गिज्याए झैं लाग्छ । रजौटा हुन् या रैती, राजनीतिलाई पेशा बनाएका यसका स्थायी ठेकेदारको चर्तिकला एकपछि अर्को देखिंदैछ । लुटपाटको बतास, ओम्नी, यती, बालुवाटारको ललितानिवास हुँदै शाह दरबार संग्रहालय पुगेको छ ।

एकाध र अपवाद स्वाभिमानी व्यक्ति वा समूह छोडेर, सबैतिर विचौलिया र दलालको बिगबिगी छ । यो प्रवृत्ति विषवृक्षको जरा जस्तै व्यक्ति, घरपरिवार र समाजमा सबैतिर फैलिएको छ र अझ झनै झाँगिंदैछ । हाम्रो नियतिको योभन्दा ठूलो विडम्बना के हुनसक्ला र ? कठै बाँदर राजा बनाउने हाम्रो राजनीतिको नियति !

यी सबै अरू नीतिभन्दा ठूलो राजनीतिलाई फोहोरी खेल बनाएर यसैमा निजी स्वार्थका ठूला माछा मार्न रमाएका छन् । यसैले नै अहिले यो अवस्था सिर्जना भएको हो । यो मूल प्रवृत्ति फेर्ने अठोट विना नेपाली समाजको रूपान्तरण सम्भव नै छैन ।

नेपालको राजनीति यस्तो फोहोरी र नेतृत्व यति धेरै ढोंगी, भ्रष्ट, दलाल र अराजक किन छ भन्ने प्रश्नको चित्तबुझ्दो उत्तर खोज्न नसकेसम्म हामी अझ लामो समयसम्म अहिलेको जस्तै अलमलमै रमाइरहनेछौं । यो नियति फेर्ने सचेत र सार्थक पहल नगर्ने हो भने यसले अझै लामो समयसम्म हामी सबैलाई पिरोल्नेछ ।

समय र सन्दर्भले मूल प्रवाहका राजनीतिक पार्टी र तिनका सिकिस्त शीर्ष नेतालार्ई राजनीतिक रूपमा कालगतिले मर्न दिन नसक्ने परिस्थिति बनेको छ । किनकि यिनका रैती रजौटाको दास जो बनेका छन् ।

शिक्षाविद् पाउलो फ्रेरेले भने झैं यिनको र हाम्रो मुक्ति सँगसँगै ल्याउन यिनलाई भीरबाट फाल्न डोको बुन्न ढिलो भएको छ । घण्टी बजिसक्यो, तर यस्तो डोको बुन्ने तरखर अझै भएको छैन । यो कुरा अहिलेको पुस्ताले कति ख्याल गरेको छ कुन्नि ? यो कार्यभार पूरा नगरे धर्मग्रन्थको नर्क त थाहा छैन, हामी नेपालीको सभ्यता नर्क पुग्नबाट कसैले रोक्न सक्दैन ।

यो अर्थमा राजनीतिको सभ्यता र संस्कृति जोगाउने यो पुस्ताको अन्तिम अवसर हो । अन्यथा आगामी पुस्ताले हामीलाई नै नयाँ डोको बुनेर भीरबाट फाल्नेछन् । ख्याल गरौं, त्यति बेला ऐय्या भन्नेसम्म समय बाँकी रहने छैन । यो कुरा मनन् गर्न सकेनौं भने इतिहासका पानामा यो पुस्ता नालायकमा दर्ज हुनेछ ।

सधैंभरि उपहासका पात्रका रूपमा चित्रित समेत हुनेछौं । यो भयंकर त्रासदीको आत्मग्लानिबाट जोगिन पनि आ–आफ्नो कर्तव्यबोध गरौं । यसैमा हामी सबैको भलाइ छ ।

अहिले अरू प्रवृत्तिसँगै राजनीतिक प्रवृत्तिको रूपान्तरण गर्ने बेला दिनदिनै घर्कंदैछ । खासगरी, राजनीतिका मूल्यमान्यता, दूरदृष्टि, मार्गचित्र साथै संरचना जस्ता महत्वपूर्ण सवालमा माथापच्चिसी गर्नुपर्ने भएको छ । यसका लागि अब अरूसँग धेरै आश गर्न सकिंदैन ।

यसअर्थमा ऊर्जाशील युवा पुस्ता राजनीतिमा सक्रिय हुनुको विकल्प छैन । यसले मात्र समाज रूपान्तरणमा केही आशा जगाउन सक्छ । इतिहासबाट पाठ सिक्ने हो भने अपवाद बाहेक विश्वभरि युवा नेतृत्वले मात्र सामाजिक परिवर्तनको नेतृत्व गरेका छन् ।

अन्त्यमा, बादशाहको नयाँ लुगा भन्ने कथामा भनिए जस्तै अक्षम र उल्लुले मात्र नदेख्ने हावाको लुगा लगाइदिने ठगहरू, अक्षम र उल्लु भएर जागिर गुमाउन नचाहने आसेपासहरू, तिनैका कुरा पत्याएर हावाको लुगा लगाएर नांगै बजार घुम्ने बादशाह र उसलाई नांगै देखेर पनि भन्ने आँट नगर्ने यो देशका सबै यस अवस्थाका लागि जिम्मेवार छौं ।

यो पुरातनवादी सामन्ती सोच नफेरी हाम्रो समृद्धि यात्रा तय हुँदैन । तर १२ वर्ष ढुङ्ग्रामा राखेको कुकुरको पुच्छर जस्तो हाम्रो प्रवृत्ति कहिले फेरिएला खै ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
प्रकाशित मिति : २०७९ साउन १९ गते बिहिवार
प्रतिक्रिया लेख्नुहोस