२०८१ असोज १७ गते बिहिवार | 2024 October 3rd Thursday

तीजको पहिलो दिन : आज दर खाने तयारीमा नेपाली महिलाहरु।

हरितालिका (तीज) व्रतको तयारी स्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ ।

विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाने गरिन्छ । माइतीले आफ्नो चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दुध दहि खिर र फलफुलहरु खाइन्छ । जसले व्रतका दिन आडिलो बनाउँछ ।

तीजको व्रत निराहार बस्ने भएकाले आज वर्तालुहरुले शक्ति प्राप्तिका लागि मीठा मीठा एवं आडिलो परिकार दरका रुपमा खाई मङ्गलबारको व्रतका लागि पूर्वतयारी गर्छन् ।

दरखाने दिन
यो चाडमा माइतीले (बाबु आमा,दाजुभाइ) छोरी/चेली लाई घरमा गई लिएर आउने वा बोलाएर मीठा-मीठा परिकार खुवाउने तथा मनका भावना एवम् सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने-बस्ने चलन छ। यस दिन विशेष महत्त्वकासाथ दर खाने गरिन्छ। यही दर खाने दिनबाट नै तीज पर्वको आरम्भ भएको मानिन्छ। दरमा ठाउँअनुसार विभिन्न मिठा-मिठा परिकार साथै खीर, ढकने, सेलरोटी, केरा लगायतका खाना, फलफूल खाने गरिन्छ।

आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन आउँदै गएको छ। सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ। भोलिपल्ट दिनभर पानीसम्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन राति ढिलासम्म बसेर पेटभरी खाने प्रचलन बसेको हो।

सोमबार दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।
यस वर्ष गणेशको उत्पत्ति भएको विश्वास गरिने गणेश चौथी भदौ १५ गते बुधबार, ऋषि पञ्चमी पर्व भदौ १६ गते बिहीबार मनाइने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । गणेश चौँथी प्रातः कालमा तिथि परेका दिन मनाइन्छ । ऋषि पञ्चमी भने मध्याह्न कालमा पञ्चमी परेका दिन मनाउनुपर्ने शास्त्रीय विधि छ ।

तीजको दिनका अतिरिक्त गणेश चतुर्थी र ऋषिपञ्चमीलाई पनि तीज पर्वकै रूपमा मनाइन्छ। खास गरी यसमा स्त्रीहरूले पतिको निम्ति निराहार रहेर भगवान शिव तथा आद्य शक्ति पार्वतीसँग प्रार्थना गर्दछन्। यो दिन महिलाहरू बिहान चाँडै उठी नुहाई धुवाई गरेर दिनभरि जल, अन्न ग्रहण नगरी बर्त बस्ने गर्दछन्। बेलुकीपख घर, गाउँ र छिमेकका महिलाहरू भेला भई पूजाका सामान तथा मण्डप तयार गरी भगवान शिवको आराधना गर्ने प्रचलन रहेको छ।

निर्जला बर्त भनिए पनि आजभोलि महिलाहरू मध्यान्हमै पूजा, आराधनापश्चात् फलफूल ग्रहण गर्ने गर्दछन्। कतिपय महिलाहरू नजिक रहेको शिवमन्दिरमा गई शिव आराधनाका साथै नाचगान तथा रमाइलो गर्ने गर्दछन्। काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा महिला बर्तालुहरूको ठूलो भिड हुने गर्दछ।

What’s your Reaction?
+1
1
+1
0
+1
-1
+1
0
+1
0
+1
0
प्रकाशित मिति : २०७९ भाद्र १३ गते सोमवार
प्रतिक्रिया लेख्नुहोस